नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशमा बढ्दो राजनीतिक अस्थिरता रोक्न पार्टीभित्र गहिरो आपसी एकता आवश्यक रहेको बताएका छन्। उनले पछिल्लो जेनजी आन्दोलनपछिको टकरावपूर्ण अवस्थाले संविधान कमजोर बनाउँदै गएको भन्दै पार्टीका सबै तहमा भावनात्मक एकता कायम हुनुपर्नेमा जोड दिए। आइतबार सार्वजनिक गरिएको भिडियो सन्देश मार्फत डा. कोइरालाले संविधान र लोकतन्त्र रक्षाका खातिर कांग्रेसभित्र मेलमिलाप र एकताको वातावरण सुदृढ बनाउनु पर्ने बताए।
आगामी निर्वाचन तथा पार्टीको विशेष महाधिवेशनको सन्दर्भमा डा. कोइरालाले भदौ २४ देखि २७ गतेसम्म देखिएको अराजक स्थितिलाई उदाहरण दिँदै सेना सक्रिय हुनुपर्ने अवस्था आउनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको बताए। उनले नयाँ पुस्तालाई फेरि संघर्ष र बलिदानको दुष्चक्रमा नठेल्न चेतावनी दिँदै, पार्टीका लागि आफूमा कुनै व्यक्तिगत पदको आकांक्षा नरहेको स्पष्ट पारे।
कोइरालाले उल्लेख गरे, “मुलुकका मन्त्री वा महामन्त्री बन्ने चाहना कहिल्यै थिएन, त्यसका लागि अवसर आउँदा पनि मैले रुचि देखाएको छैन। सभापति वा प्रधानमन्त्री हुने व्यक्तिगत महत्वाकांक्षा मेरो छैन। मेरो मुख्य ध्येय कांग्रेस भित्र समग्र एकता र रूपान्तरण नै हो।”
उनले दिवंगत नेता बीपी कोइरालाको मेलमिलापको नीति अहिलेको सन्दर्भमा अझ प्रासंगिक रहेको र यही नीति नै पार्टी तथा मुलुकका लागि मार्गदर्शक बन्न सक्ने विचार व्यक्त गरे।


