जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा विश्वासको मतको समर्थन गर्दै एकजुट भएर नयाँ सन्देश दिन सबैलाई आह्वान गरेका छन्। शनिबार सभामा विश्वासको मत माग्दै उनले राजनीतिक दलका सदस्यहरूलाई एकताबद्ध भएर देशको हितमा सहयोग गर्न अनुरोध गरे।
मुख्यमन्त्री सोनलले पक्ष–विपक्षको दायरा भन्दा माथि उठ्नुपर्ने आवश्यकता औंल्याउँदै, ठूला दलका सांसदहरूलाई समेत विश्वासको प्रस्तावमा साथ दिन आग्रह गरे। ‘संघीयता र लोकतन्त्रको सुदृढीकरणका लागि आजको दिन एकता प्रदर्शन गर्नुपर्छ’, उनले भने, ‘विश्वासको मतमार्फत सरकारलाई काम गर्ने ऊर्जा दिनुहोस्।’
सोनलले अग्रजहरूले गरेका उपलब्धिलाई संरक्षण गर्दै नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न सबैलाई आग्रह गरे। मधेश संघीयताको उत्पत्तिस्थल भएकाले थप जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने उनले औंल्याए। ‘सरकार केवल अंकको खेल हो, स्थायित्वभन्दा व्यवस्था महत्वपूण हुन्छ’, उनले स्पष्ट पारे, ‘त्यसैले सबै दल एकढिक्का भएर अघि बढ्न आवश्यक छ।’


