दीर्घकालदेखि अवरुद्ध सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशन अन्तर्गतको बैठक आगामी पुस ११ गते हुने तय भएको छ। सभामुख भीमबहादुर भण्डारीले आज कार्यव्यवस्था परामर्श समितिको बैठकपछि उक्त मिति घोषणा गरेका हुन्।
गत भदौ ५ गते बसेको अन्तिम बजेट अधिवेशनको बैठकपछिदेखि प्रदेशसभा सञ्चालन रोकिएको थियो। जेन–जी आन्दोलनका क्रममा भदौ २४ मा भएपछि भवनमा आगजनी र तोडफोड भएको कारण नियमित बैठक हुन सकेको थिएन। यसबीचमा महत्वपूर्ण विधेयकमाथि विचार सुरु हुन नसकेको छ।
उक्त आन्दोलनले प्रदेशसभा सचिवालय, संसदीय दलका कार्यालय तथा संसद् भवनमा गरी करीब आठ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको थियो।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले भवन मर्मतका काम अन्तिम चरणमा रहेको र पुस ११ गते दिउँसो २ बजे बैठक बस्ने तयारी भएको जानकारी दिए।
उनका अनुसार, बैठकपछि यो अधिवेशन सकिएर हिउँदे अधिवेशन आह्वान गर्नेबारे सरकारसँग समन्वय भइरहेको छ। यदि त्यो सम्भव नभए चालु अधिवेशनका थप बैठकहरू जारी राखिनेछ।


