हिन्दु धर्मावलम्बीहरूले आज विशेष पर्व हरिबोधिनी एकादशी मनाउँदै छन्, जसलाई प्रबोधिनी वा देवोत्थान एकादशीका नामले पनि चिनिन्छ।
चौबीस एकादशीमध्ये हरिबोधिनीलाई सबैभन्दा ठूलो तथा अन्तिम एकादशी मानिन्छ, त्यसैले यसलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।
काठमाडौं उपत्यकाका चाँगुनारायण, इचङ्गुनारायण, विशङ्खुनारायण र शेषनारायणलगायत देशभरका विष्णु मन्दिरहरूमा आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म भक्तजनले तुलसीको विशेष पूजा गर्छन्। यही दिन शास्त्रीय विधिअनुसार भगवान दामोदरसँग तुलसीको विवाह गरिन्छ।
धार्मिक विश्वासअनुसार, आषाढ शुक्ल एकादशीमा क्षीर सागरमा शयन गर्नुभएका भगवान विष्णु चार महिनापछि हरिबोधिनी एकादशीका दिन ब्युँझनुहुन्छ।


