गण्डकी प्रदेशसभाको मङ्गलबार सम्पन्न बैठकले जनस्वास्थ्य सेवा सम्बन्धी विधेयकलाई सर्वसम्मत पारित गरेको छ। सामाजिक विकास तथा कृषि समितिमा २०८१ चैत २२ गते दफावार छलफलका लागि पठाइएको उक्त विधेयक समितिको प्रतिवेदनसहित पुनः प्रदेशसभामा प्रस्तुत गरिएको हो।
स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशसभामा दफावार छलफलपछि विधेयक अनुमोदन भएको जानकारी दिए। उक्त छलफलमा सदस्य दिलमाया पौवी, कुसुम बुढा पुन, देवका पहाडी त्रिपाठी लगायतले भाग लिएका थिए। बैठकमा मन्त्री पाठकले विधेयक पास गर्न प्रस्तुत गरेका थिए।
बैठकका क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले समयको अभावका कारण हिउँदे अधिवेशनमा नयाँ विधेयक ल्याउन नसकेको स्पष्ट गरे। पारदर्शिता, सुशासन, भ्रष्टाचार नियन्त्रण र मितव्ययिता कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। प्रदेश सरकारको अधिकार स्थापित गर्न सबै पक्षबीच एकता आवश्यक रहेको उनले बताए।
शुन्य समयमा प्रदेशसभा सदस्य कल्पना तिवारी, डिल्लीराम सुवेदी, फणिन्द्र देवकोटा, भक्तबहादुर कुँवर, लिलबहादुर थापामगर तथा श्यामराजा महतले समसामयिक विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।


